काठमाडौं । चीनको ल्हेन्दे खोलामा आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूलीतर्फ बढेपछि काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवन जाने सवारीसाधन रोकिएका छन्।
सम्भावित बाढी तथा सडक जोखिमलाई मध्यनजर गर्दै उपत्यका ट्राफिक प्रहरीले नागढुंगा र भीमढुंगा नाकाबाट बाहिरिने सवारीसाधनलाई होल्ड गरेको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार जोखिमका कारण त्यसतर्फ जाने सवारीलाई तत्काल नजान भनिएको छ। सार्वजनिक यातायात व्यवसायीलाई समेत ती रुटमा सवारी नपठाउन आग्रह गरिएको छ।
ट्राफिक प्रहरीले बस तथा अन्य सार्वजनिक सवारीसँगै निजी चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधनसमेत रोकेको छ।
रसुवाबाट सुरु भएको बाढीको प्रभाव धादिङ हुँदै नुवाकोट र चितवनतर्फ समेत पर्नसक्ने देखिएपछि प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइरहेको छ। यससँगै सम्भावित जोखिम क्षेत्रमा आवतजावत रोक्दै यात्रुको सुरक्षा प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।




































