काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि सुरक्षाकर्मी नै ठूलो जोखिममा परेका छन्। जिल्लाका तीन स्थानमा कार्यरत ४१ जना नेपाल प्रहरी सम्पर्कविहीन भएका छन्।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार स्याफ्रुबेँशी, रसुवागढी र मैलुङमा कार्यरत प्रहरीहरू सम्पर्कमा आएका छैनन्। बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पु¥याएको उनले बताए।

यसैगरी सशस्त्र प्रहरी निरीक्षकसहित ९ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।

बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत फैलिँदै गएपछि नदी आसपासका बस्ती खाली गराउन सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको प्रयास जारी राखेको छ।

बाढीको जोखिम बढेपछि चितवनको नारायणगढसम्म पृथ्वी राजमार्गमा सवारी आवागमनसमेत रोकिएको छ।