काठमाडौं / तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण रूपमा बन्द गरिएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सडकमा सवारी आवागमन रोकिएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक ९एसपी० नरेशराज सुवेदीका अनुसार यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै सडक बन्द गर्ने निर्णय गरिएको हो। उनले बाढीको अवस्था सामान्य भएपछि मात्र सडक सञ्चालनमा ल्याइने जानकारी दिए।
आज बिहान करिब ९ बजे आएको बाढीले रसुवा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीमा सशस्त्र प्रहरी बलका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। भोटेकोशीको बाढी त्रिशूली नदीमा मिसिएसँगै नदीको बहाव थप बढेको छ। यसले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।






































