काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि सम्भावित घाइतेको उपचार व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन संयन्त्र सक्रिय बनाएको छ।प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्दै प्राथमिक उपचार, ट्रायज र आवश्यक परे तत्काल रिफर गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रसुवा अस्पताल, धुन्चे अस्पताल, त्रिशूली अस्पताललगायत स्थानीय स्वास्थ्य संस्थालाई सक्रिय राखिएको छ। स्थानीयस्तरमा उपचार सम्भव नभएका गम्भीर घाइतेलाई काठमाडौंका ठूला अस्पतालमा ल्याउने तयारी गरिएको छ।

सम्भावित गम्भीर घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पताललाई हब अस्पतालका रूपमा तयारी अवस्थामा राखिएको छ।

स्वास्थ्य मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरसमेत सक्रिय पारिएको छ भने प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र काठमाडौंका प्रमुख अस्पतालबीच समन्वय बढाइएको छ।अहिलेसम्म काठमाडौंमा ल्याइएका गम्भीर घाइतेको यकिन विवरण सार्वजनिक भइसकेको छैन। मन्त्रालयले घाइते तथा प्रभावितको विवरण संकलन र अध्यावधिक गरिरहेको जनाएको छ।

बाढीले निम्त्याउन सक्ने मानवीय क्षतिको जोखिमबीच सरकारले उद्धारसँगै उपचार व्यवस्थापनलाई पनि तीव्र बनाएको छ।