चितवन । रसुवाबाट आएको भोटेकोशीको बाढी त्रिशूली नदी हुँदै चितवनतर्फ बढेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

बाढी फिस्लिङ क्षेत्रभन्दा अघिल्लो भागसम्म आइपुगेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले नदी किनारका जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेको छ।

सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकाय परिचालन गरिएको छ। स्थानीय तहसँग समन्वय गरी जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा लैजाने तथा सावधानीसम्बन्धी सूचना प्रवाह भइरहेको प्रशासनले जनाएको छ।

बाढीको जोखिम बढेपछि सम्बन्धित सडकखण्डमा सवारी आवागमनसमेत रोकिएको छ। प्रशासनले नदी तथा खोलानजिक नजान र सुरक्षित स्थानमै बस्न तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।

प्रशासनका अनुसार बाढी चितवनको मुख्य बस्तीमा प्रवेश गरिसकेको छैन, तर बहावको अवस्था हेरेर थप सतर्कता अपनाइएको छ।