काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत देखिएको छ। बाढीले बगाएर ल्याएका सात जनाको शव नुवाकोट र धादिङमा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये नुवाकोटमा तीन जना र धादिङमा चार जनाको शव भेटिएको हो। बाढीको बहावसँगै शवहरू तल्लो तटीय क्षेत्रमा पुगेका हुन्।
रसुवाबाट सुरु भएको बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएर नुवाकोट र धादिङसम्म पुगेको छ। त्यसपछि बाढीको प्रभाव चितवनतर्फ समेत देखिएको छ।
बाढीले माथिल्लो क्षेत्रमा ठूलो क्षति पुर्याएपछि तल्लो तटीय क्षेत्रमा समेत खोज तथा उद्धार अभियान तीव्र पारिएको छ। सुरक्षा निकायले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा खोजी जारी राखेका छन्।
बाढीका कारण रसुवामा ठूलो भौतिक क्षति हुनुका साथै केही मानिस सम्पर्कविहीन रहेको विवरण यसअघि नै सार्वजनिक भएको थियो। तर बेपत्ता तथा मृतकको यकिन संख्या अझै संकलनकै क्रममा रहेको प्रहरीले जनाएको छ।



































