काठमाडौं । रसुवामा बुधबार आएको विनाशकारी बाढीपछि ३ सय ८४ जना पर्यटक सम्पर्कविहीन भएका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकसँग सम्पर्क स्थापित हुन नसकेपछि उनीहरूको अवस्थाबारे चिन्ता बढेको छ।नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन पर्यटकमध्ये २ सय ९१ जना विदेशी र ९३ जना नेपाली रहेका छन्।
बोर्डले ट्राभल एजेन्सी, पर्यटक गाइड, स्थानीय तह तथा सुरक्षा निकायबाट प्राप्त विवरण संकलन गरी यो संख्या सार्वजनिक गरेको हो।
भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, रसुवागढीलगायत क्षेत्र प्रभावित भएपछि त्यस क्षेत्रमा रहेका पर्यटकसमेत प्रभावित भएका हुन्।
विशेषगरी उत्तरी रसुवाका केही क्षेत्रमा सञ्चार सम्पर्क अवरुद्ध तथा सडकमार्ग प्रभावित भएकाले पर्यटकको अवस्थाबारे तत्काल जानकारी लिन कठिनाइ भइरहेको छ।
पर्यटक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएसँगै उनीहरूको खोजी तथा उद्धारलाई प्राथमिकता दिनुपर्ने अवस्था देखिएको छ। सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ।

































