काठमाण्डौं / रसुवाबाट एकाएक उर्लिएको बाढी नुवाकोटको विदुर नगरपालिका आइपुग्दा तीनवटा प्रमुख बजारमा वितण्डा मच्चिएको छ।

बेत्रावती, त्रिशूली र देवीघाट बजारमा बाढी पसेपछि घर, व्यापारिक संरचना र पूर्वाधारमा ठूलो क्षति पुगेको छ। त्रिशूली बजार आसपास मात्रै करिब ६० घर बगेको प्रारम्भिक विवरण छ। तिब्बती क्षेत्रबाट रसुवा हुँदै आएको भीषण बाढीले भोटेकोशी र त्यसपछि त्रिशूली नदीको बहाव बढाउँदा नुवाकोटका तटीय क्षेत्र प्रभावित भएका हुन्। विदुर नगरपालिकाका बेत्रावती, त्रिशूली र देवीघाट बजार सबैभन्दा बढी प्रभावित भएको प्रारम्भिक विवरण छ।

ढुङ्गेबजार क्षेत्रमा समेत बाढीले ठूलो क्षति पुर्‍याएको छ। त्रिशूली बजारमा बाढीले करिब ६० घर बगाएको बताइएको छ। त्रिशूली नदीमाथिका दुईवटा पक्की पुलसमेत बाढीले बगाएको छ। बाढीले त्रिशूली र देवीघाट जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ भने २५ मेगावाट क्षमताको सौर्य प्लान्टका तीनवटा ब्लक र सबस्टेसनमा समेत क्षति पुगेको छ।

बेत्रावतीदेखि देवीघाटसम्मको तटीय क्षेत्रमा बाढीको प्रभाव परेको प्रशासनले जनाएको छ। बजार क्षेत्रमा पानीको बहाव पसेकाले भौतिक संरचनामा क्षति बढी भएको बताइएको छ। सुरक्षाकर्मी परिचालन गरेर क्षतिको विवरण संकलन भइरहेको छ।

मानवीय क्षति भयो कि भएन ?

बाढीको दृश्य भयावह भए पनि नुवाकोटका प्रमुख जिल्ला अधिकारीका अनुसार अहिलेसम्म मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन। बाढी आउनुअघि पूर्वसूचना पाएपछि त्रिशूली नदी आसपासका स्थानीय सुरक्षित स्थानमा गएकाले ठूलो मानवीय क्षति टरेको हुनसक्ने प्रशासनको भनाइ छ। तर क्षतिको विस्तृत विवरण संकलन भइरहेकाले अहिले नै अन्तिम निष्कर्ष निकाल्ने अवस्था छैन।

यसबीच तिब्बतबाट सुरु भएको विपद् रसुवा हुँदै नुवाकोटसम्म आइपुगेपछि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसमेत जोखिममा परेको छ। प्रशासनले नुवाकोटसँगै धादिङ, गोरखा र चितवनतर्फका नदी किनारका बस्तीलाई समेत उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढीले एउटा बजार मात्र होइन, विदुरका तीन प्रमुख बजार—बेत्रावती, त्रिशूली र देवीघाट—लाई एकैपटक हल्लाएको छ। घर र पुल बगिसके, ऊर्जा पूर्वाधारमा क्षति पुगिसक्यो। अब सबैभन्दा ठूलो प्रश्न एउटै छ—बाढीले कति क्षति गर्‍यो भन्ने होइन, यसले अझै कति ठूलो जोखिम बोकेर तल्लो तटीय क्षेत्रमा जाँदैछरु