काठमाडौं । रसुवामा आएको भीषण बाढीले रसुवा भन्सार कार्यालयको भौतिक संरचनासँगै भन्सार यार्डमा राखिएका ३०० भन्दा बढी गाडी बगाएको प्रारम्भिक विवरण आएको छ। बाढीले भन्सार जाँचका लागि यार्डमा राखिएका ट्रक तथा अन्य सवारीसाधनलाई बगाएको भन्सार कार्यालयले जनाएको छ।

बाढीको तीव्र बहावले गाडी मात्रै होइन, भन्सार क्षेत्रमा रहेका अन्य सामग्रीसमेत बगाएको छ। बाढीको क्षतिको पूर्ण विवरण संकलन हुन नसक्दा भन्सार कार्यालयमा भएको आर्थिक क्षतिको यकिन तथ्यांक भने तत्काल सार्वजनिक हुन सकेको छैन।

अर्थ मन्त्रालयका अनुसार रसुवा भन्सार कार्यालयमा ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेको छ। तीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना सम्पर्कमा आएका छन् भने ५ जना कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।

सम्पर्कमा नआएका कर्मचारीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। भन्सारका अन्य कर्मचारी भने बाढीबाट जोगिन टिमुरे बजारभन्दा माथिल्लो डाँडामा आश्रय लिएर उद्धारको प्रतीक्षामा रहेको जानकारी आएको छ।

भन्सार यार्डमा चेकजाँच तथा अन्य प्रक्रियाका लागि राखिएका सयौँ सवारीसाधन एकैपटक बाढीमा बगेपछि राजस्व प्रशासनसँग जोडिएको महत्वपूर्ण संरचनामै ठूलो क्षति पुगेको छ। बाढीले भन्सार कार्यालयका कागजात, उपकरण तथा अन्य सामग्रीमा समेत क्षति पु¥याएको हुनसक्ने भए पनि त्यसको विस्तृत विवरण संकलन हुन बाँकी छ।

अहिले प्राथमिकता सम्पर्कविहीन कर्मचारीको खोजी, उद्धार र सुरक्षित रहेका कर्मचारीको व्यवस्थापन बनेको छ। त्यसपछि मात्रै भन्सार कार्यालयमा भएको भौतिक तथा आर्थिक क्षतिको विस्तृत मूल्यांकन गरिनेछ।

बाढी प्रभावित माथिल्लो क्षेत्रमा सञ्चार तथा सडक सम्पर्कसमेत प्रभावित रहेकाले क्षतिको वास्तविक तस्वीर आउन अझै समय लाग्ने देखिएको छ। अहिले सार्वजनिक भएको ३०० भन्दा बढी सवारीसाधन र ५ कर्मचारी सम्पर्कविहीनको विवरणसमेत प्रारम्भिक भएकाले थप अपडेटसँगै संख्या परिवर्तन हुन सक्नेछ।