काठमाडौं / बाँके कारगारभित्रै योगराज ढकाल‘रिगल’बाट आफ्नो छोरा असुरक्षित भएको पीडित सुरज कशौधन बनियाँकी आमा राजकुमारी बनियाँले आरोप लगाएकी छन् ।

बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी कारागारभित्र रिगलले साम्राज्य खडा गरेर सबै कैदि–बन्दीहरुलाई दुःख दिनेगरेकोसमेत परिवारले जानकारी दिएको छ ।

आमा राजकुमारीले १२ वर्षदेखि जेल जीवन बिताईरहेका आफ्नो छोरा सुरजलाई रिगलले १ वर्षदेखि लगातार यातना दिदै आएको र पछिल्लो समयमा मार्ने धम्किसमेत दिएको गुनासो गरेकी छन् । “कारगारभित्रै बन्दीहरु असुरक्षित छन्, मेरो छोराले रिगलको भनेको मानेन भनेर यातना दिन मिल्छ, एकजना कैदीले अर्को कैदीलाई अन्याय गर्दा प्रहरी प्रशासन चुप लाग्न मिल्छ” राजकुमारीले प्रश्न गरिन् ।

पीडित सुरजकी बहिनी दर्गा बनियाँले रिगलबाट आफ्नो दाजु पटकपटक कुटपिट हुँदै आएको र जेलरहरुले पनि रिगलकै साथ दिएको भन्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराएकीछन् । दुर्गाले आफ्नो दाई जस्तै अन्य कैदीहरुको सुरक्षाका लागि रिगललाई तत्काल अन्यत्र सरुवा गर्न माग गरिन् । ‘यदि राज्यले फाँसी दिने कानुन निर्माण गर्छ भने सुरुवात मेरो दाइबाट गरोस्, हैन भने पटकपटक रिगलहरुबाट मर्न नपरोस्’, दुर्गाले भनिन् ।

स्थानीय आशिष मल्ल ठकुरीले वर्षौंदेखि नेपालका कारागार अमानवीयरुपमा चिलरहेको जनाउँदै त्यसलाई व्यापक सुधार गर्नुपर्ने धारणा राखे । ठकुरीले रास्वपा बाँके ३ नम्बर क्षेत्रबाट निर्वाचित संघीय सांसद खगेन्द्र सुरनारले रिगललाई संरक्षण गरेको र उनैले जेलभित्र साम्राज्य चलाउन उक्साएको कारगारभित्रैबाट कैदीबन्दीहरुले गुनासो सुनाउने गरेको बताए । ‘सुनार पटकपटक कारागार आउने र रिगल ढाकाललाई भेटी ‘केही परे म छुँ’ भन्दै कैदीलाई दमन गर्न उक्साएको प्रष्ट हुन्छ,’ ठकुरीले भने ।

वर्तमान सरकारले हालै कारागार सुधार गर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयन नभएको तथा जेलभित्रै अपराधिक घटनाहरु बढ्न थालेको उनको जिकिर छ । कारगारको अस्तव्यस्त व्यवस्थापनका कारण रिगल जस्ता कैदीहरुले अन्य जेल जीवन विताईरहेका व्यक्तिहरुमाथि छुट्टै शासन चलाउने गरेको दाबी गरे । 

‘रिगल जस्तै पहुँचवाला कैदीहरुले प्रहरी प्रशासनलाई समेत आफ्नो अनुकुल बनाएर दादागिरी चलाउँदै आएको प्रति सरकारको ध्यानकर्षण होस्,’ ठकुरीले भने ।