काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्यान मार्ने धम्की दिएको आरोपमा उनी निर्वाचित भएको झापा जिल्लाका २३ वर्षीय युवक पक्राउ परेका छन्।

झापाको भद्रपुर घर भई कीर्तिपुरमा बस्दै आएका पुष्कर दाहाललाई सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई लक्षित गर्दै धम्कीपूर्ण स्टाटस लेखेको आरोपमा साइबर ब्युरोले पक्राउ गरेको हो। दाहालले फेसबुकमा अश्लील शब्द प्रयोग गर्दै प्रधानमन्त्री शाहलाई लक्षित गरी ‘मार्दिन्छु’ भन्ने आशयको स्टाटस लेखेका थिए। उनले उक्त स्टाटसमा नेपाल प्रहरीलाई समेत मेन्सन गरेका थिए।

प्रहरीका अनुसार दाहालमाथि विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धान अघि बढाइएको छ। घटनाले सामाजिक सञ्जालमा अभिव्यक्त हुने धम्कीपूर्ण भाषामाथि कानुनी कारबाहीको बहससमेत फेरि सतहमा ल्याएको छ। विगतमा राजनीतिक नेतृत्वबाट आएका विवादित तथा आपत्तिजनक अभिव्यक्तिमा भने समान प्रकृतिको कारबाही भए–नभएको प्रश्न उठ्ने गरेको छ।

विशेषतः सार्वजनिक पदमा रहेका व्यक्तिका विवादित अभिव्यक्तिमा सरकार तथा प्रहरीको भूमिका र सामान्य नागरिकको सामाजिक सञ्जाल अभिव्यक्तिमा हुने कारबाहीबीच कानुन एउटै मापदण्डमा लागू हुन्छ कि हुँदैन रु भन्ने प्रश्न पनि उठेको छ।तर दाहालमाथिको आरोप अनुसन्धानकै क्रममा रहेकाले उनलाई दोषी ठहर गरिसकिएको मान्न मिल्दैन।

अनुसन्धानबाट प्राप्त प्रमाण र कानुनी प्रक्रियापछि मात्रै कसुरको अन्तिम टुंगो लाग्नेछ।