काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बैंकले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। बैंकका अनुसार सहयोग रकम बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, प्रभावित परिवारलाई राहत सामग्री तथा अस्थायी आवासको व्यवस्था, साथै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा उपयोग गरिनेछ।
भोटेकोशीको बाढीका कारण दर्जनौंले ज्यान गुमाएका, धेरै नागरिक अझै बेपत्ता रहेका तथा सयौं परिवार विस्थापित भएको अवस्थालाई मध्यनजर गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगको घोषणा गरेको हो। बैंकले प्राकृतिक विपद्का बेला आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउने परम्परालाई निरन्तरता दिँदै आएको जनाएको छ।
बाढी, पहिरो, भूकम्प तथा अन्य विपद्का समयमा पनि बैंकले विभिन्न राहत कार्यक्रम सञ्चालन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ। ग्लोबल आइएमई बैंक हाल देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा ३४१ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ।






































