नवलपरासी । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको असर तल्लो तटीय क्षेत्रमा समेत देखिन थालेको छ। बाढीको भेलले बगाएर ल्याएका १५ जनाको शव पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदीको गण्डक क्षेत्रमा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार गण्डक क्षेत्रका विभिन्न ठोकर तथा बाँध आसपासमा ६ महिला, ६ पुरुष, एक बालक र दुई बालिकाको शव फेला परेको हो। नदीमा बग्दै आएका शव एकपछि अर्को गर्दै किनार तथा ठोकर क्षेत्रमा अड्किएपछि प्रहरीले उद्धार गरी व्यवस्थापनको तयारी थालेको छ।

प्रहरीका अनुसार यी शवहरू रसुवामा आएको विनाशकारी बाढीमा परी नारायणी नदीमा बगेका व्यक्तिका हुन सक्ने देखिएको छ। भोटेकोशी र त्रिशूली हुँदै नारायणीमा आएको बाढीको भेलले मानिसलाई तल्लो तटीय क्षेत्रमा पु-याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

शवको अवस्था हेर्दा बाढीले कति टाढासम्म मानवीय क्षति पु¥याएको छ भन्ने भयावह तस्वीर देखिएको छ। रसुवाबाट सुरु भएको विपद्को प्रभाव सयौँ किलोमिटर तल सुस्ताको गण्डक क्षेत्रसम्म आइपुगेको छ।

अहिले प्रहरी तथा स्थानीय प्रशासनका लागि सबैभन्दा ठूलो चुनौती फेला परेका शवको पहिचान र सुरक्षित व्यवस्थापन बनेको छ। शव पहिचानका लागि आवश्यक विवरण संकलन भइरहेको छ भने आफन्तसँग मिलान गर्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी मदन थापाका अनुसार फेला परेका शवलाई पृथ्वीचन्द्र अस्पताल तथा आवश्यकताअनुसार अन्य सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ। तर जिल्ला अस्पतालमा शव राख्ने स्थान सीमित भएकाले एकैपटक ठूलो संख्यामा शव व्यवस्थापन गर्न समस्या भइरहेको छ।

गण्डक क्षेत्रमा शव फेला पर्ने क्रमसँगै स्थानीय बासिन्दामा समेत त्रास बढेको छ। नदीको बहाव घटेपछि थप शव किनार तथा ठोकर क्षेत्रमा देखिन सक्ने भएकाले प्रहरीले नदी आसपासका क्षेत्रमा निगरानी र खोजी बढाएको छ।यस घटनाले भोटेकोशी बाढीको क्षति रसुवा, नुवाकोट र धादिङमा मात्र सीमित नभएको देखाएको छ। बाढीको बहाव नदीको तल्लो क्षेत्रमा फैलिँदा नारायणी नदीसम्म आइपुगेको छ र त्यससँगै बेपत्ता मानिसहरूको खोजीको दायरा पनि थप फराकिलो बनेको छ।

फेला परेका १५ शवमध्ये कसैको पनि तत्काल पहिचान खुल्न सकेको छैन। त्यसैले उनीहरू रसुवालगायत बाढी प्रभावित क्षेत्रबाट बेपत्ता भएका व्यक्ति हुन् कि अन्य स्थानका हुन् भन्ने यकिन गर्न प्रहरीले थप अनुसन्धान तथा पहिचान प्रक्रिया अघि बढाइरहेको छ।

रसुवामा सुरु भएको बाढीको विनाश अहिले सुस्ताको गण्डकसम्म शव बनेर आइपुगेको छ। नदीले बगाएर ल्याएका १५ शवले विपद्को वास्तविक भयावहता अझ स्पष्ट पारेको छ। खोजी र उद्धार अभियान जारी रहेकाले गण्डक क्षेत्रमा थप शव भेटिन सक्ने सम्भावनासमेत देखिएको छ।