काठमाडौं । नेपाल र चीन दुवैतर्फ विनाशकारी बाढी–पहिरोले ठूलो क्षति पुर्याइरहेका बेला चिनियाँ प्रधानमन्त्री लि छ्याङ बाढी प्रभावित चिनियाँ क्षेत्रमा पुगेका छन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी बिहीबार प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिन पुगेका हुन्।
बुधबार आएको भीषण बाढीपहिरोपछि नेपालतर्फ मात्रै करिब १०० चिनियाँ नागरिक सम्पर्कविहीन रहेको चीनले जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबारको नियमित पत्रकार सम्मेलनमा नेपालमा विपद्मा परेका करिब १०० चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका हुन्।
नेपालतर्फ बाढीले रसुवा, नुवाकोट र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। यही क्षेत्रमा चिनियाँ नागरिक तथा व्यवसायीसमेत प्रभावित भएको देखिएको छ। उनीहरूको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार कार्य जारी छ।
उता चीनतर्फको अवस्था पनि गम्भीर देखिएको छ। बिहीबार बिहान ८ बजेसम्म चीनमा बाढीपहिरोका कारण ३ जनाको मृत्यु, ५५८ जना बेपत्ता भएको विवरण सार्वजनिक गरिएको छ। दुई स्थानीय गाउँलेलाई भने उद्धार गरिएको छ।
यही गम्भीर परिस्थितिबीच चिनियाँ प्रधानमन्त्री आफैँ प्रभावित क्षेत्रमा पुग्नुलाई विपद् व्यवस्थापनप्रति चीनले दिएको प्राथमिकताका रूपमा हेरिएको छ। प्रभावित क्षेत्रको अवस्था, उद्धार कार्य र क्षतिको प्रत्यक्ष जानकारी लिएर आवश्यक सरकारी संयन्त्र परिचालनमा उनको भ्रमण केन्द्रित हुने देखिएको छ।
नेपालमा पनि चिनियाँ नागरिक ठूलो संख्यामा सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएपछि खोजी तथा उद्धारमा नेपाल–चीनबीच समन्वय थप महत्वपूर्ण बनेको छ। विशेषगरी सीमा क्षेत्र तथा नदीको बहावसँग जोडिएका क्षेत्रमा सम्पर्कविहीन नागरिकको खोजी चुनौतीपूर्ण बनेको छ।
यस घटनाले भोटेकोशी क्षेत्रमा आएको बाढीको प्रभाव नेपालमा मात्र सीमित नभई चीनको तिब्बत क्षेत्रसम्म फैलिएको देखाएको छ। दुवैतर्फ ठूलो संख्यामा मानिस बेपत्ता भएको अवस्थामा अहिले मुख्य प्राथमिकता उद्धार, बेपत्ताको खोजी र प्रभावित नागरिकको सुरक्षा बनेको छ।





































