काठमाडौं । नेपाल–चीन सीमापारि पहिरोका कारण बनेको ठूलो ताल फुटेको सूचना आएपछि रसुवामा फेरि बाढीको जोखिम बढेको छ। चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएपछि रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले नदी तटीय क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित रहन आग्रह गरेका छन्।
चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम क्षेत्रमा पहिरोका कारण ठूलो ताल बनेको थियो। बिहीबारसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो भने थप पानी भरिँदै गएको थियो।
ताल फुटेको सूचना आएलगत्तै रसुवा प्रशासनले भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सर्कुलर गरेको छ। प्रजिअ परियारका अनुसार चिनियाँ पक्षबाट ताल फुटेको औपचारिक जानकारी आएपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर स्थानीयलाई सुरक्षित रहन भनिएको हो।
छोचेन र पुरेपु त्साङ्पो नेपाल प्रवेश गरेपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिने भएकाले ताल फुटेपछि त्यसको पानीको प्रभाव नेपालतर्फ पर्न सक्ने चिन्ता बढेको छ।उता जोखिम बढेपछि चीनले समेत उद्धार अभियान अस्थायी रूपमा रोकेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार उद्धार टोलीलाई घटनास्थलबाट करिब एक किलोमिटर टाढा सुरक्षित स्थानमा हट्न निर्देशन दिइएको छ।
पहिरोले थुपारेको भग्नावशेष र लेदोका कारण बनेको ताल भरिएपछि पानी उद्धार टोली परिचालन भएको क्षेत्रतर्फ बग्न थालेको चिनियाँ सरकारी प्रसारक सीसीटीभीले जनाएको छ। उद्धार टोलीलाई सुरक्षित स्थानमा स्ट्यान्डबाइ रहन र थप निर्देशन पर्खन भनिएको छ।
यसअघि नै भोटेकोशी बाढीले रसुवा र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याइसकेको अवस्थामा चीनतर्फको ताल फुट्नुले जोखिम थप गम्भीर बनाएको छ। अहिले प्रशासनको मुख्य ध्यान नदीको बहाव र सम्भावित बाढीको प्रभाव निगरानीमा केन्द्रित छ।
ताल फुटेको पुष्टि भइसके पनि त्यसबाट नेपालमा कति ठूलो प्रभाव पर्छ भन्ने तत्काल स्पष्ट भइसकेको छैन। त्यसैले नदी किनारका बासिन्दालाई जोखिम नलिई सुरक्षित स्थानमा रहन र प्रशासनको सूचना तथा निर्देशन पालना गर्न आग्रह गरिएको छ।




































