काठमाडौं । चीनको दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार लोङचाङ सहर आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्प गएको क्षेत्र नेपाल–तिब्बत सीमा क्षेत्रमा हालै बाढी र पहिरो गएको स्थानबाट सयौँ माइल टाढा पर्छ। प्रारम्भिक विवरणअनुसार भूकम्पबाट मानवीय क्षति वा ठूलो भौतिक क्षतिको खबर आएको छैन।
तर नेपाल–चीन सीमा क्षेत्रमा बाढी र पहिरोको विपद् कायमै रहेका बेला चीनको अर्को क्षेत्रमा भूकम्प गएपछि प्राकृतिक विपद्को जोखिमप्रति थप चासो बढेको छ।तिब्बतमा बाढी र पहिरोपछि उद्धार तथा राहत अभियान जारी छ। यहीबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रभावित क्षेत्रको उद्धार अवस्थाबारे उच्चस्तरीय बैठक गरेका छन्। बैठकमा उद्धार, बेपत्ताको खोजी र थप जोखिम नियन्त्रणलाई प्राथमिकता दिइएको छ।
सीमा क्षेत्रमा भने हिमताल, हिमनदी तथा पहिरोबाट थप जोखिम हुन सक्ने भन्दै अधिकारीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। बाढीका कारण नदी थुनिएर बनेको नयाँ तालमा पानीको सतह बढ्दै गएपछि ताल फुट्न सक्ने जोखिमसमेत औँल्याइएको छ।ताल फुटेमा तल्लो तटीय क्षेत्रमा थप ठूलो बाढी आउन सक्ने भएकाले स्थानीय बासिन्दा र उद्धारकर्मीलाई जोखिमपूर्ण क्षेत्रबाट सुरक्षित स्थानमा सार्ने तथा अवस्थाको निरन्तर निगरानी गर्ने काम भइरहेको छ।
नेपालतर्फ पनि भोटेकोशीसहित प्रभावित नदी तथा तल्लो तटीय क्षेत्रमा सतर्कता बढाइएको छ।एकातिर सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प, अर्कोतिर तिब्बत–नेपाल सीमा क्षेत्रमा बाढी र हिमताल फुट्ने जोखिम—चीनमा प्राकृतिक विपद्को चुनौती एकपछि अर्को थपिएको छ।




































