काठमाडौं— रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता आफन्तको खोजी गर्दै परिवारजन नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको ब्यारेकसम्म पुगेका छन्।

बाढीपछि विभिन्न स्थानमा खोजीका क्रममा फेला परेका शवहरू पहिचान तथा व्यवस्थापनका लागि सेनाको ब्यारेकमा ल्याउने गरिएको छ। आफन्तहरू आफ्ना परिवारका सदस्यको अवस्था बुझ्न तथा फेला परेका शवमध्ये आफ्ना आफन्त भए–नभएको पहिचान गर्न ब्यारेकमा पुगिरहेका छन्।

ब्यारेकमा ल्याइएका केही शव सड्न थालेपछि दुर्गन्ध फैलिएको छ। शव पहिचान तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र आफन्तहरूले मास्क लगाएर काम गरिरहेका छन्।

बाढीमा ठूलो संख्यामा मानिस बेपत्ता भएपछि आफन्तहरू खोजी तथा पहिचानका लागि विभिन्न स्थानमा पुगिरहेका छन्। सुरक्षा निकायले बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।