काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी, मजदुर र सर्वसाधारणको खोजी तथा उद्धारलाई सरकारले सर्वोच्च प्राथमिकतामा राखेर सबै उपलब्ध संयन्त्र परिचालन गरिरहेको बताएका छन्।
सम्पर्कविहीन कर्मचारीका परिवारसँग मन्त्रालयमा भेटघाट गर्दै मन्त्री श्रेष्ठले उद्धार अभियानमा कुनै कमी हुन नदिइएको स्पष्ट पारे। प्रतिकूल मौसम र जटिल भौगोलिक अवस्थाका कारण चुनौती थपिएको भए पनि खोजी कार्य निरन्तर जारी रहेको उनले बताए। उनले परिवारजनलाई उद्धार अभियानबारे नियमित, यथार्थ र विश्वसनीय जानकारी उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको बताए।
मन्त्री श्रेष्ठका अनुसार मन्त्रालयले उद्धार, समन्वय र पुनःस्थापनाका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरेको छ। सुरक्षा निकायसँगको समन्वयमा खोजी तथा उद्धार अभियानलाई तीव्र बनाइएको भए पनि मौसम र भौगोलिक जोखिमका कारण अपेक्षित प्रगति हासिल गर्न कठिनाइ भइरहेको उनले जानकारी दिए। उद्धार अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय तहबाट अन्तरमन्त्रालय समन्वय, स्रोत व्यवस्थापन र आवश्यक सहजीकरण भइरहेको छ।
साथै मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित उच्च अधिकारीहरू घटनास्थलमै खटिएर उद्धार, पुनःस्थापना र समन्वयको नेतृत्व गरिरहेका छन्।






































