काठमाडौं । भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ।
नेपाली सेना, भारतीय सेना, कोरियन विज्ञ र सम्बन्धित आयोजनाका इन्जिनियरसहितको संयुक्त टोलीले सुरुङभित्र रेकी, ब्लास्टिङ, होल निर्माण तथा लेदो हटाउने काम गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार क्षतिग्रस्त तथा अवरुद्ध सुरुङ खोल्न विभिन्न आधुनिक उपकरण प्रयोग गरी उद्धार अभियान अघि बढाइएको छ। उद्धारको पछिल्लो अवस्थाबारे नेपाली सेनाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र पूर्वाधार विकास मन्त्रीलाई ब्रिफिङसमेत गरेको छ।
सो क्रममा मन्त्रीहरूले आगामी उद्धार रणनीति र सुरुङमा फसेकाहरूको अवस्थाबारे जानकारी लिएका थिए। यता, बाढीबाट प्रभावित रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको मन्त्रालयले जनाएको छ। बाँकी स्थानमा मर्मत, पुनःस्थापना र वैकल्पिक विद्युत् व्यवस्थाको काम तीव्र रूपमा अघि बढिरहेको छ।
साथै, प्रभावित क्षेत्रमा सौर्य ऊर्जा प्रणाली विस्तारका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल सौर्य विद्युत् उत्पादक संघबीच आवश्यक समन्वयसमेत गरिएको मन्त्रालयले जनाएको छ।






































