खोटाङ / खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएकी एक महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।
प्रसुती व्यथाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –२ सोल्माकी ३० वर्षीया शान्ता विकलाई आज (आइतबार) राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरि उद्धार गरिएको हो ।
जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि विकलाई उक्त हेलिकोप्टर मार्फत उद्धार गरि काठमाडौँको प्रसूति गृह थापाथली पठाइएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।
यसअघि उनले शल्यक्रिया गरेर बच्चालाई जन्म दिएको र यसपटक आठ महिनामै प्रसुती व्यथा सुरु भएका कारण उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले जानकारी दिए ।






































