कञ्चनपुर / लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको हिजो (शनिबार) राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ। झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिएका छन् । हात्ती आएको थाहा पाउनेबित्तिकै परिवारका सबै जना भाग्न थालेपछि, भाग्ने क्रममै उनलाई हात्तीले आक्रमण गरेको थियो । हो–हल्ला गरी हात्ती भगाएर अस्पताल पुर्याउँदा रानाको ज्यान गयो गएको भण्डारीले बताएका छन् ।
शिविरमा रानाका श्रीमती, बुहारी र नातिनातिनासँग बस्दै आएका थिए। हात्तीले शिविरका बासिन्दाका २० झुपडीसमेत भत्काइदिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट राति ८ः३० बजे १५ बढीका सङ्ख्यामा छावासहितको जङ्गली हात्तीको बथान शिविरमा छिरेको उनको भनाइ छ।
हात्तीले झुपडी भत्काउन सुरु गरेपछि शिविरका बासिन्दा सबै एकै ठाउँमा जम्मा भएर हो–हल्ला गरेपछि हात्ती निकुञ्जतर्फ भागेको बताइएको छ। शिविरसहित हात्तीको बथानले लालझाडी गाउँपालिकाको डुङ्गाका बासिन्दाको समेत घर भत्काइदिएको वडाध्यक्ष फुलाराम चौधरीले बताए।
हात्तीले बस्तीमै छिरेर मानवीय क्षति गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेको उनले बताएका छन् ।






































