झापा / सल्यानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका वडा नं २ का २२ वर्षीय रमेश भण्डारी र १९ वर्षीय डिल्ली बस्नेत रहेको प्रहरीले जनाएको छ ।

रमेश  र डिल्लीले गत असार २२ गते राति सल्यान जिल्लाको कुमाखा गाउपालिका वडा नं १ शान्तिबजार स्थित ठूली आमाको घरमा सुत्न गएकी १४ वर्षीया बालिकालाई मध्यरातमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डीएसपी सुमित खड्काले जानकारी दिएका छन् । 

पीडितकी दिदी साथीको घरमा गएको मौका छोपी ढोका खुल्लै रहेको समयमा राति ११ बजेतिर उनीहरू घरभित्र छिरेर मुख कपडाले छोपी जबरजस्ती करणी गरेको भन्ने खुल्न आएको डीएसपी खड्काले बताए । 
पक्राउ परेका रमेश र डिल्लीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न शुक्रबार जिल्ला अदालतबाट पाँच दिन म्याद थप भएको प्रहरीले जनाएको छ ।