Screenshot_2023-03-30-21-09-46-82_a23b203fd3aafc6dcb84e438dda678b6



काठमान्डौ । प्रधानमन्त्री प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य अघि बढ्ने बताएका छन्।

भरतपुरमा बिहीबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले समस्या दुईसाताभित्र समाधान हुने बताए।

उनले भने, ‘एक वा दुई साताभित्र सबै समस्या समाधान हुन्छ र क्रिकेट रंगशालाको निर्माण कार्य अघि बढ्छ ।’

धुर्मुस–सुन्तली फाउन्डेसनले देश–विदेशमा रहेका नेपालीबाट सहयोग जुटाएर भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेका थिए । 

आर्थिक अभाव देखाउँदै उनीहरूले निर्माण कार्य रोकेपछि पछिल्लो डेढ वर्षदेखि रंगशाला निर्माण अलपत्र छ ।

२० माघ ०७५ मा फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले भरतपुर महानगरपालिका– १५ स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको जग्गामा डोजर चलाउँदै रंगशालाको डिपिआर प्रक्रिया सुरु गरेका थिए । 

उनीहरूले ६ महिनाभित्र डिपिआर सकेर दुई वर्षभित्र रंगशाला तयार गर्ने उदघोष पनि गरेका थिए ।

अभियानकर्ताले नै हात झिकेपछि ३० हजार दर्शक क्षमताको रंगशाला खण्डहर बन्दै गएको छ ।

फाउन्डेसनले रंगशालाका लागि उधारोमा किनेका सामग्रीको १८ करोडभन्दा बढी रकम तिर्न बाँकी छ ।

कोरोनाका कारण आर्थिक स्रोत जुटाउन नसकेको भन्दै फाउन्डेसनले निर्माणकै क्रममा सम्झौताअनुसार भरतपुर महानगरपालिकालाई २ पुसमा स्वामित्व हस्तान्तरणका लागि पत्राचार गरेको थियो । 

केही दिनअघि अभियन्ता कट्टेलले ‘धुर्मुस–सुन्तली फाउन्डेसन’को फेसबुक पेजमा एक भिडियो सेयर गर्दै रंगशालाका कारण मानसिक यातना भोगिरहेको गुनासो गरेका थिए ।