काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा पुर्याएको क्षति कुनै एक क्षेत्रको मात्र दुःख नभएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन् । उनले विपद्ले परिवारका सदस्य गुमाएका नागरिकको पीडालाई राष्ट्रिय पीडाका रूपमा लिनुपर्ने भन्दै संकटको यो घडीमा सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीले क्षणभरमै धेरै परिवारबाट आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी खोसेर लगेको स्मरण गरे । उनका अनुसार भोटेकोशीको बाढीबाट सिर्जित पीडा रसुवा, नुवाकोट र धादिङमा सीमित छैन, यसले सम्पूर्ण नेपालीको मनमा चोट पुर्याएको छ ।प्रधानमन्त्री शाहले विपद्का बेला दोषारोपणभन्दा उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने धारणा राखे । प्राकृतिक विपद्सँग जुध्नुको विकल्प नरहेको भन्दै सरकारले प्रभावित नागरिकलाई साथ नछाड्ने उनले स्पष्ट पारे ।
उनले प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई तीव्रता दिइएको र अब पुनर्निर्माणको कामलाई समेत योजनाबद्ध रूपमा अघि बढाइने जानकारी दिए । बाढीले भत्काएका संरचना पुनःनिर्माणसँगै विस्थापित नागरिकको पुनःस्थापना र प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्याउन सरकार केन्द्रित रहेको उनको भनाइ छ ।प्रधानमन्त्री शाहले विपद्को समयमा राजनीतिक दल, राज्यका सबै निकाय र आम नागरिकबीच सहकार्य आवश्यक रहेको बताए । उनले राष्ट्रिय संकटलाई साझा चुनौतीका रूपमा लिएर हातेमालो गर्न आग्रह गरे ।
‘यो विपदमा लड्नुको हामीसँग विकल्प थिएन, हामी लडिरहेका छौँ,’ प्रधानमन्त्री शाहले भने ।भोटेकोशी बाढीपछि उद्धार र राहतसँगै अब प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण ठूलो चुनौतीका रूपमा देखिएको छ । प्रधानमन्त्रीको संसद् सम्बोधनले तत्कालीन उद्धारसँगै दीर्घकालीन पुनर्निर्माणलाई पनि सरकारको प्राथमिकतामा राखिएको संकेत गरेको छ ।






































