डुम्रे (तनहुँ) । देशैभर प्रख्यात रहेको कौराहा (कौरा) नृत्य संरक्षणमा तनहुँको एक पालिका जुटेको छ । जिल्लाको विकट क्षेत्रको रुपमा मानिने ऋषिङ गाउँपालिकाले मगर समुदायमाझ लोकप्रिय रहेको कौराहा नृत्य संरक्षणमा जुटेको हो । 

पालिकामा नै उत्पत्ति भएको मानिएको कौराहा नृत्य संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले प्रत्येक वर्ष प्रतियोगिता गर्ने, वृत्तचित्र बनाउने र घरबास (होमस्टे)का सञ्चालकलाई प्रशिक्षण दिँदै यसको संरक्षण गरिरहेको छ ।  गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कौराहा नृत्य गाउँपालिकाबाटै सुरु भएकाले यसको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनका लागि प्रत्येक वर्ष प्रतियोगिता गर्दै आइरहेको र नयाँ पुस्तालाई यसको संरक्षणमा जोड्न वृत्तचित्र निर्माण गरिसकिएको बताए ।

उनका अनुसार यस नृत्यको संरक्षण तथा प्रवद्र्धनका लागि गाउँपालिकाको प्रमुख प्रशासकीय कार्यालय रहेको स्थान पोखरीभञ्ज्याङमा यही माघ २० गते खुल्ला कौराहा नृत्य प्रतियोगिता गर्ने कार्यापालिका बैठकबाट नै पारित गरिएको छ । 

‘ऋषिङबाट उत्पत्ति भएको कौराहा संस्कृति परम्परालाई संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाले खुला प्रतियोगिता गर्ने भएको हो’, उनले भने, ‘यसका साथै संस्कार, संस्कृतिलाई आयसँग जोड्ने प्रयासमा पनि रहेका छौँ ।’ प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु ७० हजार, रु ४५ हजार, रु २५ हजार र रु १० हजार र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।

पालिकाको प्रत्येक कार्यक्रममा यो नृत्य समावेश गर्ने गरिएको र यस नृत्यबाट नै अतिथिलगायत सहभागीलाई स्वागत गर्ने गरिएको अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘गाउँपालिकाबाट गरिने हरेक सार्वजनिक कार्यक्रमको सुरुआत नै कौराहा नृत्यबाटै गर्छौं ।’ विगतमा मगर समुदायमाझ मात्र लोकप्रिय रहेको यो नृत्य अहिले मुलुकक विभिन्न क्षेत्रबाहेक विदेशमा लोकप्रिय बन्दै गएको उनले बताए ।

कौराहा नृत्य ऋषिङबाट उत्पत्ति भएको र यहाँबाट बसाइ सर्दै देशका विभिन्न स्थान तथा विदेशमा जानेले नृत्यलाई विस्तार गरेको कौराहा नाचको अध्ययन तथा अनुसन्धान गर्नुभएका व्यास नगरपालिका–१३ बेलबास निवासी यमबहादुर आलेको बुझाइ छ । 

पछिल्लो समय गाउँपालिकाले स्थानीयको क्षमता विकास र विभिन्न समुदायको पहिचानलाई उजागर गर्न विभिन्न कार्यक्रम गर्दै आएको गाउँपालिकाका प्रवक्ता विजय दरैले बताए । कौराहा नाचको सुरु नै मगर समुदायको बाहुल्य रहेको ऋषिङ गाउँबाट भएकाले संरक्षणका लागि गाउँपालिका अग्रसर रहेका उनको भनाइ छ । विभिन्न स्थान तथा विद्यालयका कार्यक्रममा समेत यो नृत्य समावेश हुने गरेको छ । 

कौराहा नृत्यको किम्वदन्ती

यो पालिका विकट क्षेत्रको रुपमा नै पर्दछ । यस गाउँपालिकाको अधिकांश स्थानमा ठूला पहाड छन् । विगतमा पानी लिन जाँदा साना कुवामा पालो पर्खिएर घन्टौँ लाइनमा बस्नुपर्ने अवस्था थियो । यसरी मगर गाउँका मानिस कुवामा पानी जम्मा हुने पालो कुरेर बस्नुभन्दा नाचगान गरौँ भन्ने सोचले ‘पानी कुरुवा नाच’ भन्दै ‘कुरुवा नाच’ र कालान्तरमा ‘कौराहा नाच’ हुन पुगेको अध्ययनकर्ताको भनाइ छ । यसलाई मगर भाषामा ‘कान्राहा’ पनि भन्ने गर्दछन् । 

पहिले चाडपर्वका बेला जिम्वाल वा मुखियाको घरमा मगर भेला भई नाचगान गर्ने र भोज खाएर आउने चलन थियो । मगरले जिम्वाल र मुखियाकामा पुगेपछि ‘कानराहा’ अर्थात् ‘हामी आयौँ है’ भन्थे । कानराहा पछि अपभ्रंश हुँदै कौराहा भएको भनाइ पनि छ । त्यसैगरी अर्को भनाइअनुसार मगर युवा युवती भेला भई नाच्ने र गाउने भएकाले ‘कौडे उमेरका युवायुवती नाच्ने’ भन्दै गर्दा कालान्तरमा ‘कौराहा’ हुन पुगेको किम्वदन्ती रहेको छ । 

यो नृत्य एक जातिको मात्र नभई अधिकांश जातिमा मनोरञ्जनका क्रममा नाचगान गर्ने प्रचलन पनि छ । यसले कौराहा नृत्यको प्रचारप्रसार, संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा टेवा पुगेको मगर समुदायका अग्रज बताउँछन् ।