काठमाडौं— सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरुको अध्ययन गर्न उपसमिति बनाएको छ।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरु विभिन्न विषयमा वर्गीकरण गरेर अध्ययन छलफल गर्ने भएको हो।
बैठकले ७ वटा उपसमिति बनाएर छलफल गर्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताए। समितिमा परेका सबै उजुरीलाई समान प्राथमिकता दिएर छलफल गर्न उपसमिति बनाएर छलफल गर्ने जानकारी दिए।
समितिले उजुरी अध्ययन कार्यदल भनेर नामकरण गरेको उपसमितिले १५ दिनभित्र सबै उजुरीको निर्णय गरिसक्ने बताएको छ। कार्यदलले निर्णय गर्नुअघि समितिको सचिवालयले ७ दिनभित्र उजुरी सम्बन्धी प्रतिक्रिया लिने पनि निर्णय गरेको छ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबारे परेको उजुरीमाथि पनि १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
समितिमा परेको उजुरीका आधारमा नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरण, शहरी विकास मन्त्रालय, सहकारी, वैदेशिक रोजगार, धितोपत्र बोर्ड, स्वास्थ्य मन्त्रालय, क्रसर उद्योग, केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल स्काउट, पोखरा अन्तरराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललगायत विषयमा परेका उजुरीको अध्ययन र छलफल गरी निर्णय सिफारिस गर्न कार्यदललाई अधिकार दिइएको सभापति पोखरेलले बताए।
समितिमा २० वटा शिर्षकमा उजुरी परेको जानकारी उनले दिए। लेखा समितिमा विभिन्न शिर्षकमा ११४ भन्दा बढी उजुरी परेका छन्।
समितिमा परेका उजुरीलाई विभिन्न २० शिर्षकमा वर्गीकरण गरेर ४८ वटा उजुरीलाई कार्यदलमार्फत अध्ययन र छानबिन गर्ने भएको हो।
समितिमा विषयगत रुप छुट्टाइएका उजुरीबाहेकका १६ वटा उजुरी माथि अध्ययन गरेर निर्णय सिफारिस गर्न नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमको संयोजकत्वमा कार्यदल बनाएको छ।