काठमाण्डौ । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। बामगती प्रदेशमा पनि बिहानैदेखि वर्षा भइरहेको छ। अहिले काठमाडौं उपत्यकामा हावाहुरीसहित ठूलो वर्षा भएको हो।
अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावा पश्चिमी भूभाग हुँदै काठमाडौंसम्म आइपुगेका कारण वर्षा भएको हो। स्थानीय वायु, पश्चिमी वायु र भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव पनि सामान्य छ।
बागमतीसाथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। केही प्रदेशमा पूर्णदेखि आंशिक बदली हुनेछ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने पूर्वानुमान महाशाखाले जनाएको छ। मेघगर्जन र चट्याङ, वर्षालगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।