काठमाडौं— डुम्रे–बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आइतबार (आज) माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा माइक्रोमा सवार एक र स्कुटरमा सवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

उनकाअनुसार मृतकको सनाखत हुन बाँकी छ। माइक्रोबसमा सवार पुरुषको लमजुङमा र स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको थापाले बताए।

गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको थापाले बताए। माइक्रोबस चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई नियन्त्रणमा लिइएको छ।