काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ बाहिरिएसँगै प्रहरीले अनुसन्धान कार्य अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि यसबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिए । यद्यपी उक्त भिडिओ कहाँको र कहिलेको हो भन्ने विषयमा भने खुलिनसकेको उनले बताए ।
भिडिओ सार्वजनिक भएपछि सोधपुछका लागि सिंहलाई बोलाइएको उनको भनाइ छ । ‘हामीले उहाँलाई बोलाइसकेका छौं । उहाँ पनि आउछु भन्नु भएको छ । त्यसपछि यसको वास्तविकता आउला’, एसपी ढकालले भने ।
सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।
बुधबार सामाजिक सञ्जालमा बाहिरिएको उक्त भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको र धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।