काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा.  बबी सिंह यादवले पड्काएको भनिएको पेस्तोल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले आज दिउँसो मलंगवा नगरपालिका वडा नम्बर ५ स्थित अञ्जनी कुमारको घरबाट उक्त उपकरण बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बरामद भएको वस्तुको मुचुल्का उठाउने काम भइरहेको र उक्त काम सकिएपछि परीक्षणका लागि काठमाडौंस्थित विधि विज्ञान प्रयोगशाला पठाइने बताए । डीएसपी राईका अनुसार यो घटना वैशाख ११ गते मलंगवा नगरपालिका–५ बस्ने बसन्त कुमारकी छोरी कोमल सुप्रियाको विवाहको हल्दी कार्यक्रममा भएको थियो ।

प्रहरीले उक्त घरमा पड्किएको भिडिओ फुटेजको आधारमा अञ्जनी कुमारको घरबाट उक्त शंकास्पद वस्तु बरामद गरेको जनाएको छ । 

यसअघि नेतृ डाक्टर बबी सिंह यादवले सामाजिक सञ्जालमा भाइरल भइरहेको सो भिडिओलाई लिएर स्पष्टीकरण दिएकी थिइन् । उनले एक वैवाहिक समारोहमा ‘रेन्जर टोइ’ नामक खेलौनाबाट फायर गरिएको र त्यसलाई अतिरञ्जित गरी सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । उनले आफूले प्रयोग गरेको खेलौना गनको तस्वीर समेत सार्वजनिक गरेकी थिइन् । 

यस विषयमा सप्तरी जिल्ला प्रहरी कार्यालयले डाक्टर बबी सिंह यादवसँग पनि सोधपुछ गरिरहेको एसपी सपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।