काठमाडौं— स्थानीय सेवा ऐन ल्याउन माग गर्दै सुदूरपश्चिमका स्थानीय सेवाका कर्मचारी आन्दोलित भएका छन्। प्रदेश सभामा गत माघमै दर्ता भएको विधेयक प्रदेश सभाबाट पारित गर्नुपर्ने माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।
बैशाख २८ गतेदेखि विधेयक पारित नहुँदासम्म चरणबद्ध आन्दोलन गर्ने घोषणाअनुरुप आइतवार मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका हुन्।
आइतबार ९ बजेदेखि ११ बजेसम्म २ घण्टा मुख्यमन्त्री कार्यालय अगाडि प्रवेशद्वारमा धर्नामा बस्ने संघर्ष समितिका संयोजक झलक दौल्यालले बताए। स्थानीय सेवा ऐन ल्याउन पटकपटक आग्रह गर्दा पनि नल्याइएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनले बताए।
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका कर्मचारीहरू आन्दोलन गर्न धनगढी आइपुगेका छन्। प्रदेश सरकारसँग आफूहरूलाई नियमन गर्न ऐन ल्याउनुपर्ने माग राख्दै उनीहरूले आन्दोलन गर्नु परेको छ। प्रदेश सरकारले ऐन नल्याउँदा लामो समयसम्म एउटै स्थानीय तहमा काम गर्नु परेको छ। जसका कारण विभिन्न किसिमका हस्तक्षेप र समस्या भोग्नुपरेको कर्मचारीले गुनासो गरेका छन्।