काठामाण्डौ । राजावादी आन्दोलनको तयारी भैरहेका बेला ज्ञानेन्द्र शाहलाई सरकारले बिना घोषणा निर्मल निवासमा नजरबन्दमा राखेको हल्ला फैलिएको छ।
स्रोतका अनुसार नेपाल प्रहरीका सिभिलका अधिकारी शनिबारदेखि ग्यानेन्द्र निवास छेउछाउ देखिएका छन। शुक्रबार नगरकोटको १२ दिने बसाईपछी शाह निर्मल निवास फर्केका थिए। यसबीचमा उनले राजावादी सबै पक्षसित भेट गरेका थिए।
यसअघि राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलाई नजरबन्दमा राखिएको थियो। आइतबार मात्र शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई नजरबन्द गरिएको हल्ला फैलिएपछि पूर्वराजा निकटस्थहरुले खण्डन गरेका छन् । पूर्वराजाकै योजनामा राजावादीहरुले जेठ १५ देखि राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेकै बीच पूर्वराजालाई सरकारले नजरबन्द गरेको हल्ला फैलिएको हो ।
पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजालाई निर्मल निवासमै नगरबन्द गरिएको भन्ने खबरको कुनै सत्यता नरहेको बताएका छन । "ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई निर्मल निवासमा नजरबन्द गरिएको भन्ने केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेको खबरमा कुनै सत्यता नरहेको जानकारी गराउन चाहान्छु," पाठकले सामाजिक सञ्जाल फेसबुकमा आइतबार साझ भनेका छन।
यस्तै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि यस्तो खबरको कुनै सत्यता नरहेको र यसबारे सरकारले नै खण्डन गर्नुपर्ने बताएका छन । उनले फेसबुकमै भनेका छन्, "ज्ञानेन्द्र शाहलाई नजरबन्द गरिएको भन्ने केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेको विषयमा कुनै सत्यता छैन । आन्दोलन विरोधीहरुले फैलाएको सुनियोजित भ्रममा कोही नपरौं।सरकारका जिम्मेवार निकायले तुरुन्त खण्डन गरोस् ।"
सरकारी स्रोतले पनि पूर्वराजालाई नजरबन्द गरिएको विषयमा अहिलेसम्म कुनै पुष्टि गरेको छैन ।