काठमाडौं— कालिकोटको रास्कोट नगरपालिका–२ स्थित मोतिराम माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले महिला जनप्रतिनिधि तथा नगर कार्यापालिका सदस्यलाई हातपात गरेका छन् । शिक्षक उपेन्द्र सिम्खाडाले वैशाख ३१ गते मदिरा सेवन गरी महिला जनप्रतिनिधिमाथि हातपात गरेका हुन् ।
शिक्षकले दिउँसो मदिरा सेवन गरेको अवस्थामा २ नंम्बर वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि हातपात गरेपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म उनको तीव्र आलोचना भएको छ ।
आपसी विवादका क्रममा मदिराले मतिभ्रमित अवस्थामा रहेका सिम्खाडाले नगर कार्यपालिका सदस्यमाथि कुटपिट गर्दा योगीको कानमा चोट लागेको स्थानीय चक्रनाथ योगीले जानकारी दिए ।
घाइते महिलाको थप उपचारका लागि सुर्खेत पठाइएको र हाल उनको अवस्था सामान्य रहेको जनाइएको छ। यस घटनाले एकातिर महिला जनप्रतिनिधिमाथि अझै पनि सार्वजनिक रूपमै हुने हिंसाको रूप देखाएको छ भने अर्कोतर्फ शिक्षक जस्तो शालीन र अनुशासित भनिने पेशामा कार्यरत व्यक्तिको व्यवहारबारे पनि गम्भीर बहस जन्माएको छ ।
वडा नं ३ का वडाध्यक्ष राजेन्द्र योगीले भने, ‘यो केवल दुई व्यक्तिको विवाद होइन, शिक्षकजस्तो सम्मानित पेसाको नैतिकता र सार्वजनिक क्षेत्रको मर्यादा खल्बल्याउने खालको घटना हो ।’
शिक्षकहरूको सामाजिक जिम्मेवारीबारे निरन्तर बहस भइरहेका बेला आएको यस घटनाले शिक्षण पेशा भित्रैको अनुशासन र मदिरा दुरुपयोगका विषयमा कठोर पुनरावलोकन आवश्यक देखिएको छ ।
विभिन्न संघसंस्था र नागरिक समाजले दोषीमाथि तत्काल कारबाही गर्न माग गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिको आचरणको मापदण्ड कडा पार्नुपर्ने माग गरेका छन् ।