काठमाण्डौ । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रहरी प्रतिवेदनमा आधार बनाइएको निवेदन झन् विवादास्पद बन्दै गएको छ।
निवेदिका पूजा न्यौपानेले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा आफूले कुनै व्यक्ति विशेषलाई लक्षित गरेर उजुरी नदिएको स्पष्ट पारेकी छन्। उनले आफ्नो पैसा फसेकाले फिर्ता पाउन मात्रै निवेदन दिएको बताउँदै सो निवेदनलाई राजनीतिक प्रतिशोधको उपकरण बनाइएकोमा आपत्ति जनाएकी छन्। यसअघि पनि दुईजनाले यस्तै किसिमको आपत्ति जनाइसकेका छन्।
सहकारी पीडित पूजा न्यौपाने सामाजिक संजालमा लेख्छिन्, " म सुप्रीम सहकारीको बचतकर्ता र सहकारीपीडित हुँ । मैले आफ्नो ब्यापारबाट आएको आम्दानीलाई धेरैथोरै बचत गर्दै केही रकम सहकारीमा जम्मा गरेकी थिए । जब सहकारी डुब्यो भन्ने थाहा पाए त्यसपछी धेरैपटक पैसा पाईन्छ कि भनेर सहकारी कार्यालय गएर लाईनमा बसे । पछी ईलाका प्रहरी कार्यालय बुटवलबाट पैसा फसिएकाहरुले निवेदन दिनु भनेपछी मैले पनि पैसा फिर्ता पाउ भनेर निवेदन र पासबूकको फोटोकपी लगेर बुझाएको हो । मैले कुनै ब्यक्तिविशेषलाई किटानी जाहेरी वा उजुरी दिएकी छैन । तर रवी लामिछानेसहितलाई उजुरी दिएको भन्दै मेरो नाम उजुरीकर्ताको पहिलो नम्बरमै राखिएको रहेछ ! मैले ढिलामात्रै थाहा पाए । कसैलाई उजुरीनै नदिएको मान्छेलाई उजुरीकर्ता बनाईरहदा प्रहरीले एकपल्ट जानकारी सम्म दिएन, मैले उजुरी दिएकै हैन मैले त पैसा फिर्ता पाउँ भनी निवेदनमात्रै दिएकि हुँ । म आजपनि भन्छु, हामीले दुख गरेर जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ , तर कसैलाई राजनितिक रुपमा प्रतिशोध गरेर फसाउन खोजिरहदाँ हामी सोझा जनतालाई प्रयोग नगरियोस ।"
हाम्रो बचत फिर्ता गर।