काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई सत्ताबाट हटाउने आन्दोलन तीव्र बनाउने कडा चेतावनी दिएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा लिङ्देनले खुलेर भने: “प्रधानमन्त्रीले संसदमा अब उमेरले भाग्न सकिन्न भन्नुभयो। तर सम्झौता नगर्ने हो भने, हामीले हेलिकोप्टर चढाएरै भाग्न बाध्य पार्नेछौं।” लिङ्देनले प्रधानमन्त्रीप्रति कडा व्यंग्य गर्दै थपे: “हामीले आन्दोलन यति बलियो बनाउँछौं कि प्रधानमन्त्रीलाई सुरक्षित रुपमा निस्कने ‘हेलिकोप्टरको सुविधा’ दिनु पर्ने स्थिति आउन सक्छ।”
मानवअधिकार आयोगका साथै अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई जेठ १५ गते हुने प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने जानकारी दिए । अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरू स्थापित गरिने उल्लेख गरे। यस पटक आफूहरूको आन्दोलनलाई टुंगोमा पुराएरै छाड्ने उनले दावी गरे। त्यस्तै केहि दिनअघि प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधनका क्रममा हामी त बुढो भयौं, तपाईं चाहिँ भाग्न मिल्छ भन्ने अभिव्यक्तिको जवाफ दिँदै लिङ्देनले सम्झौता गर्न तयार नभए भाग्न नसक्नेहरूलाई हेलिकोप्टर सुविधा दिने टिप्पणी गरे।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको घर–घरमा गएर आफूहरूको आन्दोलनका बारेमा जनतालाई जानकारी गराउने बताए । अबको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेता हुने भएकाले कुटाइ खानुपरे अग्रभागमा रहेका नेताहरूले खाने उनले बताएका छन्। उनले अबको आन्दोलन शान्तिपूर्ण हुने भएकाले ढुक्क भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरे । अध्यक्ष थापाले जनताको उपस्थितिबाटै भ्रष्ट शासकहरूलाई पराजित गर्ने र आफ्ना एजेण्डा स्थापित गराएरै छाड्ने बताए ।