वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपालले पर्साको वीरगञ्ज महानगरपालिका–२, भगुवास्थित सीमा इलाकाबाट ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । भकुवा नाकाबाट प्रतिबन्धित लागू औषध ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार बरामद ट्याब्लेटको मूल्य भारतमा ७ लाख रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको भारतबाट तस्करी गरी ल्याइँदै गरेको ८१ हजार ४९० पिस ट्रामाडोल ट्याब्लेट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र बहादुर सिंहको नेतृत्वमा टोलीले भकुवा नाकास्थित सिर्सिया नदी नजिकै पुग्दा २ जना तस्कर टाउकोमा लागू औषधले भरिएका कार्टुन बोकेर नेपालतर्फ आउँदै थिए। प्रहरी देखेपछि उनीहरूले कार्टुन फ्याँकेर फरार भएको डीएसपी सिंहले जानकारी दिए।
प्रहरी टोलीले फ्याँकिएको कार्टुन खोलेर हेर्दा त्यसभित्र ८१ हजार ४९० पिस ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट फेला परेको थियो। बरामद लागू औषध आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।
तस्करहरुको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिएका छन्।