धनकुटा । धनकुटाबाट पिकअप गाडीमा लोड गरिएको लागुऔषध गांजा सहित एक जना पक्राउ परेका छन् ।
शनिबार बिहान करिब १ बजे प्रहरी चौकी ओख्रेले सांगुरीगढी गाउंपालिका २ सेलिङ स्थित मोरङको सीमानाबाट बोलेरो पिकअपमा लोड गरिराखेको २९ वटा बोराभित्र ८ सय ९० केजी लागुऔषध गाँजासहित साँगुरीगढी गापा २ बुढीमोरङका अन्दाजी १९ वर्षीय उल्लास लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।
धनकुटाको बुढीमोरङबाट मोरङको केराबारीतर्फ गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि तत्काल प्र.स.नि. विनोदकुमार राजवंशीको कमाण्डमा खटिएको टोली तत्काल परिचालन भइ सो लागुऔसध पक्राउ गर्न सफल भएको हो। प्र १-०२-००२ च ५२३८ नम्बरको महिन्द्रा पिकअपका चालक भने फरार भएका छन् ।
घटनास्थलबाट को २९ प ९६३५ नम्बरको पल्सर मोटरसाइकल तथा ४ थान मोबाइल फोनसमेत बरामद भएको छ । फरार चालकको पहिचान खुलिसकेको हुँदा जि.प्र.का. धनकुटा तथा मोरङको संयुक्त टोलीबाट तीव्रताका साथ खोजतलास भइरहेको साथै नियन्त्रणमा लिइएको ब्यक्ति र बरामद सामानलाई जिप्रका धनकुटा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।