काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–४ पोखरी घर भएका ३० वर्षीय शक्ति खड्का र काठमाडौं महानगरपालिका–९ बस्ने सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका९१ घर भएका २७ वर्षीय प्रविन कुमार मण्डल रहेका छन् । 

पक्राउ मध्ये शक्तिले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५५ लाख रुपैयाँ र प्रविनले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं  उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शक्तिलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कबाट र प्रविनलाई काठमाडौं महानगरपालिका- ९ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।