मोरङ  ।  अध्यागमन प्रकरणमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन्। 

नेता कोइरालाले संवैधानिक निकायहरु सचिवहरूको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरुको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको धारणा राखे । उनले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरुले जनमत संग्रहबाट डराउन नहुने जिकिर गरे। उनले कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत संग्रह गराउन सक्नुपर्ने बताए। त्यस्तै नेता कोइरालाले ०८२ सालको मंसिरमा नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान कायम रहेको र कार्यकर्ताहरूलाई महाधिवेशनका लागि दबाब दिन आग्रह समेत गरे।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन् ।