काठमाडौं । गृह मन्त्रालयले अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रियाप्रतिक्रिया प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गृह मन्त्रालयले आज एक प्रेस विज्ञप्ति कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालद्वारा जारी विज्ञप्तिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको शंका भएकाे समाचारप्रति भनिएकाे छ, 'यस्ता कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं । साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं ।'
मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ ।