काठमाडौं— नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनश्रम कृषि सहकारी संस्थामार्फत् उत्पादन गरेको आलु उद्योगपति विनोद चौधरीको सीजी फुड्सले किनेको छ। नेकपाका महासचिव विप्लवले आफूहरूले उत्पादन गरेको दुई लाख किलो आलु चौधरीलाई बेचेको जानकारी दिएका हुन् ।
‘आलु त हामीले विनोद चौधरीलाई नै दियौँ’, तुलसीपुरस्थित नेपाल घरेलु तथा साना उद्योग महासंघले सोमबार बेलुकी आयोजना गरेको भेटघाट कार्यक्रममा विप्लवले भने, लगभग दुई लाख किलो आलु हामीले उहाँलाई उपलब्ध गरायौँ।’
सोचे भन्दा धेरै आलु उत्पादन गरी दिएपछि चौधरी छक्क परेको उनले बताए। ‘उहाँलाई लागेको हुँदो हो यिनीहरूले बढीमा बिस–तिस हजार किलो आलु उत्पादन गर्ने भनेर,’ उनले भने, ‘तर हामीले भनेको टार्गेट भन्दा बढी उहाँलाई उपलब्ध गराएका थियौं, लगभग दुई लाख किलो आलु हामीले उहाँलाई उपलब्ध गरायौं । उहाँले मेरो लागि त त्यो एउटा मिरेकल जस्तै हो भन्नु भएको थियो ।’
चौधरीले हालसम्म आफूलाई आलु सप्लाइ गर्ने सबैभन्दा ठूलो इकाइ नेकपा रहेको कुरापनि आफूसँग गरेको विप्लवले बताए। आलु बेच्ने विषयमा गत कात्तिक २ गते नै नेकपा र सीजी फुड्सबीच सम्झौता भएको थियो।
पुँजी निर्माणका लागि आफ्नो पार्टीले काठमाडौंसहित देशका विभिन्न तीन स्थानमा साना उद्योग सुरु गरेको जानकारी पनि विप्लवले गराए।
ती सबै नाफामै चलिरहेको दाबी उनको छ। पछिल्लो समय आफूले कैलालीका आलु किसानसँग अन्तरक्रिया गरेपछि उनीहरू उत्साहित भएको उनले बताए।