काठमाण्डौ  ।  यातायात व्यवसायीहरूले सोमबारदेखि देशरभरि सबै प्रकारका सार्वजनिक यातायात सेवा बन्द गरेका छन्। राइड सेयरिङ विवादपछि यातायात व्यवसायीले सोमबार देशभर सार्वजनिक यातायात ठप्प बनाएका छन्।

यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघलगायतले आइतबार साँझ संयुक्त विज्ञप्ति निकाली सोमबारदेखि सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरेका छन्। आफूहरूले राखेका माग सरकारले सुनुवाइ नगरकाले सोमबारदेखि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ।

एकाध ठाउँमा एक/दुईवटा गाडी चलेको देखिन्छ। बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणहरूले सास्तो ब्यहोर्नुपरेको छ। कलेज पढ्ने व‍िद्यार्थी, बिहानै काममा जाने मानिसहरू बस बिसौनीमा सार्वजनिक यातायात कुरेर बसेको देखिन्छन्। यातायात बन्द भएपछि केही मानिसहरू हिँडेरै गन्तव्यसम्म जाँदै गरेको दृश्य पनि सडकमा देखिन्छ।

सोमबार देखि अत्यावश्यक अवस्थामा बाहेक सार्वजनिक यातायात बस, टयाम्पो, ट्रक, मिनीबस, जिप, माइक्रो बसलगायतका सबै सवारीसाधनन बन्द गर्ने निर्णय गरेका हुन्।
सोही निर्णयको प्रभाव सोमबार बिहानैदेखि काठमाडौं उपत्यकामा देखिएको छ। सार्वजनिक यातायात ठप्प भएपछि यात्रुहरू गन्व्यमा पुग्न सकेका छैनन्। उनीहरू सडक मै अलपत्र परेका छन्।