काठमाडौं — पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको पुष्टि भएको छ। प्रहरीका एक उच्च स्रोतले विद्युतीय कारोबार ऐन अन्तर्गत पाठकमाथि अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।
प्रहरी स्रोतका अनुसार, "दिलभूषण पाठकविरुद्ध साइबर अपराध अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको हो। अन्य विषयहरु अनुसन्धानको क्रममा छन्।" यद्यपि, कसले उजुरी दिएको हो र कुन आधारमा दर्ता गरिएको भन्नेबारे भने प्रहरीले विवरण सार्वजनिक गरेको छैन।
पाठकमाथि उजुरी प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा परेको थियो। त्यसपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको र अदालतले अनुमति दिएपछि पुर्जी जारी गरिएको हो।
विषय के हो?
तीन हप्ता अघि पाठकले आफ्नो युट्युब च्यानलमा नक्शालस्थित हिल्टन होटलको शेयर कारोबारसम्बन्धी एक सामग्री सार्वजनिक गरेका थिए। उक्त भिडियोमा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, र उनीहरूका छोरा जयवीरको नाम जोड्दै दुबई, अष्ट्रेलिया र क्यानडासम्म फैलिएको रियलस्टेट कारोबारबारे दाबी गरेका थिए। साथै, जयवीरको सम्पत्तिबारे पनि प्रश्न उठाएका थिए।
यसपछि शंकर ग्रुपले वैशाख २१ गते एक विज्ञप्ति जारी गर्दै पाठकले सार्वजनिक गरेको सामग्री झुटो र भ्रामक भएको दाबी गरेको थियो। समूहले विज्ञप्तिमा यस्ता रिपोर्टहरूले व्यापारिक प्रतिष्ठा र राजनीतिक छविमा नकारात्मक असर पार्ने भन्दै कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको थियो।
स्रोतका आधारमा, यही विवादकै सिलसिलामा पाठकविरुद्ध साइबर अपराधअन्तर्गत उजुरी दर्ता भई कानुनी प्रक्रिया अघि बढेको अनुमान गरिएको छ।