काठमाडौं— नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिइएको छ । अख्तियारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार अभियोग लागेपछि रिक्त रहेको पदमा मास्केलाई जिम्मेवारी दिएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिएका छन् । मास्के टेलिकमको प्रमुख प्राविधिक अधिकृत हुन् ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बी।ई। गरेकी छिन् ।  उनले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् भने २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् ।

पदभार ग्रहण गर्दै नेपाल टेलिकमका नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडी बढ्ने प्रतिवद्धता जनाएकी छिन् ।