पाँचथर । मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका ६ जना मध्ये ३ मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन् ।
गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पतालबाट थप उपचारका मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बाँकी घाइते ३ जनाको उपचार भइरहेको छ ।
शनिबार साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो । करिब ७० मिटर लामो मोडुलार पुल भाँचिदा निर्माणमा खटिएका छ जना कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिएका छन।
बुढाथोकीका अनुसार दुर्घटनामा बारा सिमरा उपमहानगरपालिका १२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी र २५ वर्षीय भुलेश्वर चौधरी गम्भीर घाइते भएका छन्भने ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन् ।
घाइतेहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ। लोड थाम्न नसकेर बेलिब्रिज भाँचिएको स्थानीयवासीले बताएका छन् ।