काठमाडौं— पछिल्लो समय चर्चामा रहेका सञ्चारकर्मी दिलभुषण पाठक प्रहरी अनुसन्धानको घेरामा परेपछि देशका ३५ भन्दा बढी सम्पादकहरू नगरकोटमा भेला भएका थिए। सम्पादकहरुको भेला हुनुको उद्देश्य एउटै थियो पाठकको सम्भावित गिरफ्तारी रोक्न रणनीति बनाउने।
पाठकले आफ्ना पोडकास्टमार्फत हिल्टन होटल खरिदसम्बन्धी कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवामाथि आरोप लगाएका थिए। उनले जयवीरले कति मूल्यमा, कहिले र कसरी खरिद गरे भन्ने बारे प्रष्ट पारेका थिएनन् ।
पुष्टि नभएको समाचारलाई लिएर जयवीर देउवाले पाठकविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका थिए। त्यसपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जीसमेत जारी गरेको थियो।
नगरकोटको भेलामा सहभागी सम्पादकहरू पाठकमाथि लागेका आरोपको खण्डन गर्दै उनलाई ‘निष्पक्ष पत्रकारिता’ का प्रतिनिधि पात्रको रूपमा चित्रण गर्न खोजिरहेका छन्। यहीबीच एक अर्को चर्चा पनि तातिएको छ – पाठककी छोरी वाणिविलास पाठक युलियन्स स्कुलमा अध्ययनरत रहेको बताएको छ ।
आरजुको लगानी भएको स्कुलमा पाठककी छोरी पढ्थिन
युलियन्स, जसमा परराष्ट्रमन्त्री आरजु राणा देउवाको लगानी छ भनिन्छ, राजधानीको महँगो स्कुलहरूमध्ये एक मानिन्छ। पाठक जस्तो स्वतन्त्र पत्रकारले छोरीलाई त्यहाँ कसरी पढाइरहेका छन् भन्ने प्रश्न सामाजिक सञ्जालमा व्यापक छ। यस्तो प्रश्न उठिरहेको बेलामा, कतिपयले पाठकप्रति संशय व्यक्त गरिरहेका छन्।
शनिबार आयोजित युलियन्सको फेयरवेल कार्यक्रममा पाठककी छोरीले मन्त्री आरजुसँग हात नमिलाएको भिडियो भाइरल भएपछि नयाँ बहस शुरु भएको छ। धेरैले यसलाई ‘बाबुको अपमानको बदला’ भनेका छन् भने केहीले “महँगो स्कुल जाँदैमा संस्कार आउँदैन” भन्ने टिप्पणी पनि गरेका छन्।
एका तर्फ पत्रकारिता स्वतन्त्रताको बहस छ, अर्कोतर्फ त्यसै पत्रकारको व्यक्तिगत जीवनका चासोहरू। दिलभुषण पाठकमाथि लागेको मुद्दा अब कानुनी मोडमा पुगेको छ। तर नगरकोटमा भएका सम्पादकहरूको भेला र छोरीको स्कुल चर्चाले यो प्रकरणलाई पत्रकारिता मात्र होइन, परिवार र नैतिकताको बहससम्म पुर्याएको छ।