काठमाडौँ – पत्रकार दिलभूषण पाठकले साइबर अपराधको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उच्च अदालत पाटनमा पक्राउ नगर्न माग गर्दै निषेधाज्ञा रिट निवेदन दिएका छन्। आइतबार दर्ता गराइएको रिटमार्फत उनले आफूलाई पक्राउ नगर्न आदेश दिन अनुरोध गरेका हुन्।


उक्त रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय तथा साइबर ब्युरोलाई विपक्षी बनाइएको छ। यस विषयमा सुनुवाइ सोमबार न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासमा तय गरिएको छ।


पाठकद्वारा सञ्चालित युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नतासम्बन्धी रिपोर्ट सार्वजनिक गरिएको थियो। रिपोर्टमा देउवा पुत्रले व्यापारी शाहिल अग्रवाल र दीपक भट्टसँग मिलेर काठमाडौँ नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरिएको छ।


उक्त सामग्री ‘कपोकल्पित, भ्रामक र चरित्रहत्या गर्न उद्देश्यले तयार पारिएको’ भन्दै उजुरी परेपछि साइबर अपराध अन्तर्गत अनुसन्धान थालिएको हो। सोही उजुरीको आधारमा काठमाडौँ जिल्ला अदालतले पाठकको नाममा पक्राउ पुर्जी जारी गरेको हो।


उक्त रिपोर्ट सार्वजनिक भएयता पाठक सार्वजनिक रूपमा देखिएका छैनन्।