काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न पूर्व मुख्यसचिव शंखरदास बैरागीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ ।

गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधिसभामा सरकारले छानबिन गर्न उच्चस्तरीय समिति बनाएको जानकारी दिएका छन्।

सात सदस्यीय छानबिन समितिमा विभिन्न मन्त्रालयका सहसचिवहरु सदस्य बनेका छन् । समितिको नेतृत्व गर्दै पूर्वमुख्य सचिव बैरागीसँगै अर्थमन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानुनी न्याय तथा संसदीय मामिला मन्त्रालयकी सहसचिव अरुणा जोशी पनि समितिमा रहेकी छिन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने र परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा सदस्य छन् ।त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले पनि समितिमा सदस्यको जिम्मेवारी पाएका छन्। गृहमन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई सदस्य सचिव बनाइएको छ ।

सरकारले छानबिन समितिलाई नौ वटा बुँदामा काम गर्न अधिकार प्रदान गरेको छ। यी बुँदाहरूले भिजिट भिसा प्रकरणका विभिन्न पक्षहरूलाई समेट्ने छ भने आफ्नो छानबिन प्रक्रियामा सम्बन्धित सबै निकाय र व्यक्तिहरूसँग सम्पर्क राख्न मिल्ने सरकारले जनाएको छ ।