सोलुखुम्बु — पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि बुधबार पहिलोपटक जहाज अवतरण भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि स्थगित उडानहरू बुधबारबाट पुनः सञ्चालनमा आएका हुन्।
प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले बुधबार काठमाडौँ–फाप्लु उडान भरेको हो। जहाज १२ जना यात्रु लिएर फाप्लु पुगेको र फर्किँदा १० जना यात्रु काठमाडौंतर्फ लगेको जानकारी उनले दिए। मौसम बारम्बार परिवर्तन हुने भएकाले फाप्लुमा उडान नियमित गर्न चुनौती रहँदै आएको उनले बताए।
लगातार १७ दिनसम्म वर्षा र बाक्लो कुहिरोका कारण फाप्लु विमानस्थल पूर्णरूपमा बन्द भएको थियो। यसले गर्दा विशेष गरी जिल्ला अस्पतालमा उपचार सम्भव नभएका गम्भीर बिरामीहरूलाई काठमाडौँ ‘रेफर’ गर्न असहज परिस्थिति सृजना भएको स्थानीय पदम श्रेष्ठले बताए। उडान नहुँदा बिरामीलाई घण्टौंको सडक यात्रामार्फत ओखलढुंगा वा विराटनगर लैजानुपरेको स्थानीय पेम्बा शेर्पाले जनाए। स्वास्थ्यकर्मीहरूका अनुसार उडान नहुँदा बिरामीको ज्यानसमेत जोखिममा परेको थियो।
सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकहरूका लागि लुक्ला मुख्य गन्तव्य भए पनि मौसम खराब हुँदा फाप्लु वैकल्पिक मार्ग बन्ने गरेको छ। तर, लामो समयसम्म उडान अवरुद्ध हुँदा पर्यटकहरूलाई योजना परिवर्तन गर्न बाध्य हुनुपरेको यातायात व्यवसायी मिङ्मार शेर्पाले जानकारी दिए।
निजी विमान सेवा कागजमै सीमित, नेपाल एयरलाइन्सको मात्रै प्रयास
फाप्लु विमानस्थलमा हाल नेपाल एयरलाइन्स बाहेक कुनै पनि निजी विमान कम्पनीले नियमित उडान तालिका राखेका छैनन्। मौसमको अनिश्चितता र यात्रु संख्या न्यून हुने कारण देखाउँदै निजी कम्पनीहरू सक्रिय छैनन्। नेपाल एयरलाइन्सले भने हप्तामा सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाडौँ–फाप्लु उडान गर्ने तालिका बनाएको छ। तर, सीमित ट्विनअटर जहाज, पाइलटको अभाव, यान्त्रिक समस्या तथा मौसमका कारण उडान नियमित हुन सकेको छैन।
प्राधिकरणका अनुसार हरेक महिना औसतमा १०–१२ दिन मात्रै उडान सम्भव हुने अवस्था रहन्छ।
सडक मार्ग पनि सुरक्षित छैन
फाप्लु–काठमाडौँ सडक दूरी करिब २७५ किलोमिटर भए पनि यात्रा सहज छैन। बिपी राजमार्गअन्तर्गत सिन्धुली, खुर्कोट र काभ्रे खण्डमा पहिरोका कारण सडक जोखिमपूर्ण बनेको छ। यसले गर्दा विमानस्थल बन्द हुँदा वैकल्पिक सडकमार्गसमेत यात्रुका लागि सहज छैन।
स्थानीयबासी र पर्यटक दुवैका लागि फाप्लु विमानस्थलको नियमित सञ्चालन अत्यावश्यक भएकाले राज्यले विमान सेवा र पूर्वाधारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।