भद्रपुर (झापा), १५ असार ः  कोशी प्रदेशमा स्वास्थ्य पर्यटनको सम्भावना र प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डको आयोजनामा दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२ शनिबार सम्पन्न भएको छ । बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा कोशीलाई ‘हेल्थ टुरिजम हब’ बनाउने विषयमा जोड दिइयो ।


कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सडानन्द मण्डलले भारतबाट उपचारका लागि आउने नागरिकलाई सहज सेवा दिन पूर्वाधार तथा नीति सुधारमा सरकार लागिपरेको बताए । नेपाल आयुर्वेदिक र वातावरणीय उपचारका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै उनले निजी–सरकारी सहकार्यमा स्वास्थ्य पर्यटन प्रवर्द्धन गरिने उल्लेख गरे  ।


पर्यटन बोर्डका निमित्तनिर्देशक रोहिणी खनालले पूर्वाधार, गुणस्तर र नीतिगत सुधारमार्फत स्वास्थ्य पर्यटनमा विश्वास आर्जन गर्नुपर्ने बताए । मार्टमा विशेषज्ञ अस्पताल, आयुर्वेदिक संस्था, होटल तथा ट्राभल एजेन्सीसहित ४८ प्रदर्शनी कक्ष राखिएको थियो । कार्यक्रमअन्तर्गत स्वास्थ्य पर्यटनका सम्भावना, चुनौती र सीमापार सहकार्यबारे दुईवटा प्यानल छलफल आयोजना गरियो ।


भारतबाट आएका २५ भन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको कार्यक्रममा बिटुबी बैठकसमेत भएको थियो । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले स्वास्थ्य पर्यटनलाई आर्थिक विकासको रणनीतिक आधार बनाउने प्रतिबद्धता गरे ।